
पुस ८, दैलेख
नेकपाको केन्द्रीय राजनीति सँगै दैलेखमा पनि राजनीति तातिएको छ । दैलेखमा कार्याकर्ताहरुको बिभाजन देखिसकिएको छ । प्रचण्ड र माधव नेपाल पक्षकाले नाराजुलुस गर्दै के.पि. शर्मा ओलिको कदम गलत भनेर बिगत तीन दिन सम्म लगातार आन्दोलन गरेको भएपनि आन्दोलन एकदमै सहमतिका आधारमा अघि बढ्नुपर्ने सुझाव दुबैतर्फका नेताहरुले दिएका छन् ।
जिल्लामा रहेका के.पि. निकटका नेताहरु काठमाडौं गएका कारण के.पि. शर्मा ओलिको पक्षमा हुने गतिविधिहरु भने त्यती धेरै देखिएको छैन् । पार्टी एकता हुँदा ओली पक्षका अध्यक्ष बनेका प्रतिनिधि सभाका सदस्य रबिन्द्रराज शर्मा र पार्टी सचिव प्रेम कटुवालले दैलेख नेकपामा बिवाद भन्दा पनि सहमतिका आधारमा अघि बढ्ने गरि वातावरण तयार गरेको प्रतिक्रिया दिएका छन् ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले अन्य जिल्लामा धेरै बिवाद गरेको भएपनि राष्ट्रिय राजनीतिका आधारमा यो वा त्यो पक्ष हुनुलाई अस्वभाविक मान्न नहुने भन्दै जिल्लामा नेकपा बिभाजन भै हाले पनि दुईवटा पार्टी कार्यालयहरु रहेकोले समझदारीकै आधारमा पार्टी कार्यालय रोजेर जनतासमक्ष जाने वातावरण तयार गर्ने गरी नेताहरु सँग कुरा भएको बताएका छन् ।
पूर्व माओवादीको कार्यालय निर्माणका लागि पार्टी अध्यक्ष एवं प्रतिनिधि सभा सदस्यले यो वर्ष २० लाख रकम प्रदान गर्नुभएको छ । पूर्व एमालेको पार्टी कार्यालयका लागि १० लाख रकम प्रदान गर्नुभएको छ । अहिले बिभाजन भयौं भन्दैमा पछि पुनः एक हुनुपर्ने अवस्था आउँदा पनि मुख हेर्ने र सहजै हात मिलाउने वातावरणको तयार गर्ने गरी सहमति हुने थापाले बताए । एउटाले रामपुरको कार्यालय रोज्ने र अर्कोले सदरमुकामको कार्यालय रोजेर अगाडी बढ्नेगरी सहमतिको प्रयास गरिने समेत थापाको भनाई छ ।
पार्टी सचिवले समसामयिक बिषय भन्दै जिल्लाकमिटी बैठक बोलाए
नेकपा दैलेखका पार्टी सचिव प्रेम कटुवालले वर्तमान अवस्थामा पार्टीमा देखिएको संकटका बारेमा छलफल गर्नका लागि बिहिवार बैठक आयोजना गरेको जानकारी दिएका छन् ।
हामी पार्टी बिभाजन नहोस भन्ने पक्षमै छौं, यदि पार्टी बिभाजन भैसकेपछि पनि को साथि कता जानुहुन्छ भोलिको कुरा हो पार्टीको शिर्ष नेतृत्वमा देखिएको बिवादको कुरालाई लिएर अहिलेनै यो वा त्यो भन्नुपर्ने अवस्था छैन अँझै पनि सहमतिका धेरै आधारहरु बाँकी रहेकोले सुझबुझका साथ दैलेखमा गतिविधिहरु सञ्चालन हुने कटुवालको भनाई छ ।
मैले समसामयिक बिषयका लागि छलफल भनेर पार्टीका जिल्ला कमिटी सदस्यहरुको बैठक बोलाएको छु कसैलाई कारवाही गर्ने वा अन्य निर्णयका लागि बैठक नबोलाएको कटुवालको भनाई छ । म पार्टी अध्यक्ष सँग सम्र्पकमै छु कटुवालले भने ।
पार्टी अध्यक्ष शर्माले भने
अनाधिकृत रुपमा बैठक बोलाए नजानुहोला
नेकपा दैलेखका अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य रबिन्द्रराज शर्माले आफु बिशेष कामले काठमाडौं गएकोले कोही कसैले व्यक्तिगत वा गुटगत स्वार्थका लागि भनेर बैठक बोलाएमा र नेता कार्यकर्ताहरुलाई करकावाही गरेमा बैठकमा नजान र अनावश्यक निर्णयहरुमा सहभागिता नजनाउन सूचना जारी गरेका छन् ।
अन्यत्र जिल्लामा जस्तो दैलेखमा अराजक गतिविधि कसैले गर्न पाउनुहुँदैन्, लोकतन्त्रमा पार्टी छान्ने, व्यक्ति छान्ने छुट सबै कमरेडहरुलाई छ तर उच्च नैतिकताका साथ अहिलेको बिसम परिस्थितीलाई मध्यनजर गर्दै देश र जनताको पक्षमा उभिन आग्रह गर्दै आफु जिल्ला आउने बित्तिकै सबैसँग छलफल र बहस गरेर सहज वातावरणमा आ–आफ्ना बिषयहरुका बारेमा छलफल गराउन पहल गर्ने बताएका छन् ।
पार्टी अध्यक्ष शर्माले भनेका छन्, “कमरेडहरुले आ–आफ्नो स्थानमा पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन र आफ्नो भविष्यका लागि अडिक रहन जिल्ला कमिटीका पदाधिकारी र अन्य सदस्य कमरेडहरुमा अनुरोध गर्दछु ।”










